Saturday, February 4, 2012

पैसा फलाउँदै प्रहरी



अवकाश पाएपछि डेरामा सर्ने पहिलो संगठन प्रमुख हुँदैछु भनेर भाषण गरेका सशस्त्र प्रहरीका एक पूर्वमहानिरीक्षक हालै लगानीको सम्भाव्यता बुझ्न मलेसिया पुगे । मलेसियास्थित स्रोतका अनुसार लगानीको क्षेत्र पहिचान गर्न उनी त्यहाँस्थित नेपाली दूतावास पनि पुगेका थिए । उनीबारे थाहा पाएकाहरू 'डेरा सर्दैछु' भन्ने उनको भाषणलाई 'वर्षकै उत्कृष्ट जोक' भन्छन् । नभनून् पनि किन ? सम्भवतः उनी नै सशस्त्रका सबैभन्दा धनी पूर्वआईजीपी हुन् जो दुई रोपनीमा बनेको आलिसान घरमा डेरा सरे । चपलीस्थित उनको दुई रोपनी जग्गाबारे धेरैलाई थाहा छ । काभ्रेको बनेपा नजिकै उनैले पूर्वप्रहरीका नाममा १० रोपनीभन्दा बढी जग्गा किनेका छन् ।

नेपाल प्रहरीका पूर्वआईजीपी प्रदीपशमशेर राणाले २०५४ देखि रौतहटको जिंगडिया गाविसमा मदिरा उद्योग सञ्चालन गरिरहेका छन् । राणा अतिरिक्त महानिरीक्षक हुँदा सञ्चालनमा आएको उक्त डिस्टिलरी अहिले उनका साथै श्रीमती शान्ता राणा, बैजुप्रसाद र ओमप्रसादको नाममा छ । उनले २०५५ मा जिंगडिया गाविसमा १५ बिघा जमिन खरिद गरी अवकाश पाएपछि कांग्रेस पार्टीबाट राजनीति थाल्ने तयारी गरेका थिए । तर पदमा बहाल रहँदै सक्रिय शासनका लागि राजालाई उक्साएको खुलासा भयो । भ्रष्टाचार मुद्दासमेत लागेपछि राजनीति गर्ने उनको चाहना पूरा भएको छैन । अहिले पनि रौतहट जाँदा उनले विभिन्न पार्टीका नेतालाई भेट्ने गरेका छन् ।

नेपाल प्रहरीकै अवकाशप्राप्त आईजीपी मोतीलाल बोहरा, अच्युतकृष्ण खरेल र प्रदीपशमशेर राणा अकुत सम्पत्ति कमाएको अभियोगमा मुद्दा खेपिरहेका छन् । पूर्वआईजीपी ओमविक्रम राणा, हेमबहादुर गुरुङ र रमेश चन्द ठकुरी सुडान मिसनमा एपीसी खरिदमा भएको भ्रष्टाचार मुद्दाका अभियुक्त हुन् । २०४६ सालको परिवर्तनपछि नेपाल प्रहरी प्रमुख रहेका रत्नशमशेर राणाको निधन भइसकेको छ भने श्यामभक्त थापाबाहेक अरू सबै भ्रष्टाचार मुद्दा खेपिरहेका छन् । मुद्दा खेप्न नपरेका थापा पुख्र्यौली गाउँ गोकर्णमा गाईपालन गरेर समय बिताइरहेका छन् ।

जागिर अवधिमा व्यापार व्यवसाय गर्न प्रहरीलाई बन्देज छ । प्रहरी प्रवक्ता डीआईजी विनोद सिंहका अनुसार प्रहरीले कुनै व्यापार/व्यवसाय गर्न, साझेदार हुन र आंशिक जागिर खान सरकारको स्वीकृति लिनुपर्ने व्यवस्था प्रहरी नियमावलीले गरेको छ । 'कसैले स्वीकृति लिएर व्यवसाय गरेको थाहा छैन,' उनले भने ।

तर मनग्गे कमाएका प्रहरी अहिले लगानी गरी पैसा बढाइरहेका छन् । कमाएको पैसा ब्याजमा लगानी गर्न प्रहरी अधिकृतहरू कहलिएका छन् । ब्ल्याक मनी -घूस खाएको) मात्र होइन ह्वाइट मनी -मिसनबाट आएको पैसा) पनि ब्याजमा लगाउन प्रहरी अधिकारीको विशेष रुचि देखिएको छ । तर्साएरै पैसा फिर्ता गर्न सकिने विश्वासमा कतिपय प्रहरीले लिखतै नगरी सापटी दिन्छन् । स्रोतका अनुसार प्रहरीका केही उच्च अधिकृतले मासिक ब्याज मात्र दोहोरो अंकमा बुझ्ने गरेका छन् । 

पैसा ब्याजमा लगाउँदा २४ प्रतिशतदेखि ३ सय प्रतिशतसम्म ब्याज लाग्छ । एकजना डीएसपीले १ लाख रुपैयाँको प्रतिदिन १ हजार रुपैयाँ -३ सय ६५ प्रतिशत) ब्याजमा लिएको पैसा तिर्न नसकेपछि डिल्ली बजारका फर्निचर व्यवसायीले अपराध अनुसन्धान महाशाखामा उजुरी नै हालेका थिए । ठगीको आरोपमा तीन वर्षअघि गाडी कारोबारी तेजकरण जैन पक्राउ परेपछि दर्जनौं प्रहरी अधिकृतको महँगो ब्याजले उनी थिचिएको फेला परेको थियो ।

अनुसन्धानमा संलग्न एक प्रहरीका अनुसार हाल उपत्यकामा वाहवाही पाइरहेका एक डीआईजीसमेत जैनका ठूला साहू थिए । केही प्रहरीको पैसा फिर्ता गरे पनि जैनले केहीको अझै चुक्ता गर्न सकेका छैनन् । आकर्षक ब्याजका कारण राष्ट्रसंघीय मिसनबाट फर्केका प्रहरी पनि ब्याजमै लगाउन उत्सुक छन् ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी अन्तर्राष्ट्रिय अनुभवअनुसार अवैध आर्जित धन पहिला लेयरिङ -चाङ लगाएर राख्ने काम) हुन्छ । यसक्रममा पैसालाई ब्याजमा लगाउने, घर/लकरमा थुप्य्राउने लगायत काम हुन्छन् । प्लेसमेन्ट भनिने दोस्रो चरणमा विभिन्न ठाउँमा रकम संकलन गरी लगानी गर्ने काम हुन्छ । लगानी गरिसकेपछि यसबाट आर्जित अवैध धनलाई क्रमशः शुद्धीकरण गरिन्छ । 

प्रहरीको पैसा व्यवस्थापन गरेरै एकथरी व्यवसायीले राजधानीमा विलासी जीवन बिताइरहेका छन् । अधिकांश समय प्रहरीका उच्च अधिकृतहरूसँग बिताउने यस्ता व्यवसायी घरजग्गा व्यवसायमा छन् । ल्यान्डरोभर/रेन्जरोभरजस्ता विलासी गाडीमा सयर गर्ने यस्ता व्यवसायी गाडीमै हतियारसमेत बोकेर हिँड्ने गरेको प्रहरी अधिकृत बताउँछन् । 'प्रहरीको पैसा यिनले दुई तरिकाले प्रयोग गरिरहेका छन्,' एक वरिष्ठ प्रहरी अधिकृत भन्छन्, 'ब्याजमा लिएर वा घरजग्गामा संयुक्त लगानी गरेर ।' 

तीमध्ये कति प्रहरीसँग ब्याजमा पैसा लिएर फेरि थप ब्याजमा लगाउँछन् । यस्ता व्यवसायीले प्रहरीको पैसा क्यासिनोका जुवाडेमाथि समेत लगानी गरेका छन् । जुवाडेलाई १ लाख रुपैयाँ ऋण दिँदा प्रतिसाता १० हजार रुपैयाँ ब्याज निर्धारण गरिएको छ । महानगरीय प्रहरीका कम्तीमा दुई पूर्वएआईजी र एक डीआईजीले जुवाडेमाथि लगानी गरेको थाहा पाइएको आयुक्त कार्यालयका एक अधिकृतले बताए । 

ऋण विवादमा नेपाल टेलिकमका एक इन्जिनियरलाई बन्धक बनाएको उजुरी आएपछि काठमाडौंका तत्कालीन प्रहरी प्रमुख पुष्कर कार्कीले प्रहरीको पैसा खेलाउने वीरेन्द्र नामका व्यवसायीलाई पक्राउ गर्न खोजेका थिए । 'तर प्रहरीले पक्राउ गर्ने चाल पाएपछि उनी नेपाल प्रहरीकै एकजना एआईजीलाई लिएर गोवा र बैंककको सयरमा निस्किए,' काठमाडौं परिसरका एक निरीक्षकले भने । कार्की हुन्जेल उनी काठमाडौंमा उतिसारो देखिएनन् ।

प्रहरीको पैसा चलाउने अधिकांश व्यवसायीले घरजग्गामा लगानी गरेका छन् । यसबाहेक लिलाम हुने अवस्थामा पुगेको सम्पत्ति धितोबाट छुटाई अर्को बैंक/वित्तीय संस्थामा राखिदिएर बीचमा मुनाफा गर्ने काममा पनि ती संलग्न छन् । कतिपय प्रहरीले चाहिँ आफैं घरजग्गामा लगानी गरेका छन् ।

'घरजग्गा कारोबार फस्टाएका बेला प्रधान कार्यालयमा कार्यरतहरूसमेत बिहान हाजिर गरेपछि एकाध घन्टा अफिस बसेर जग्गा खोज्न हिँड्थे' एक एसपीले भने । घरजग्गा कारोबार फस्टाएका बेला त्यसमा लगानी गर्नेमा सशस्त्र र नेपाली सेनाका अधिकृत पनि थुप्रै थिए ।

प्रहरी अधिकृतले गिट्टी/बालुवाजस्ता अपारदर्शी व्यवसायमा पनि साझेदारी गर्ने गरेका छन् । प्रहरीका वरिष्ठ अधिकृतले डान्स रेस्टुरेन्टमा लगानी गरेको खबर सञ्चारमाध्यममा आउन थालेपछि उनीहरूले यस्ता 'बदनाम व्यवसाय' बाट हात झिकेका छन् । 'तर केही कनिष्ट अधिकृतको अझै लगानी छ भन्ने सुनिएको छ,' एक एआईजीपीले भने । 

कालोधनबाट सुन किनेर लकरमा राख्ने चलन पनि राजधानीमा व्यापक छ । कतिपयका घूसको रकम घर र लकरमा थन्किएको काठमाडौं प्रहरी परिसरका एक अधिकृतले बताए । 'एउटा घरमा पैसाले भरिएको बोरा छ भन्ने विश्वासिलो सूचना आएपछि छापा मारियो,' ती अधिकृतले भने, 'तर प्रहरी पुग्नुअघि त्यहाँबाट अन्तै सारेछन् ।'

हतियारधारी प्रहरीले असुली छाड्ने विश्वासमा रकम लगानी गरे पनि कतिपयको पैसा फसेको प्रहरीसम्बद्ध स्रोतको भनाइ छ । 'घरजग्गा कारोबारमा देखिएको मन्दीको प्रभावबाट प्रहरी अधिकृत अछुतो छैनन्,' एक अधिकृतले भने । हतियारधारी प्रहरीले जसरी पनि असुल गर्ने विश्वासमा ब्याजमा पैसा लगानी गरेका छन् । तर पैसा लिने नै संकटमा परेकाले कतिपय प्रहरीका उच्च अधिकृतलाई असुल्न गाह्रो परिरहेको छ । 'लिखतै गरे पनि विधिवत् फिर्ता गराउन खोज्दा घूस खाएको देखिने भएकाले ती उजुरी पनि गर्न नसक्ने अवस्थ्ाामा छन्,' प्रहरी अधिकृतले भने ।  

अवैध रूपमा आर्जित रकम सोझै बैंकिङ प्रणालीमा नआउने राष्ट्र बैंकका डेपुटी गभर्नर महाप्रसाद अधिकारीले बताए । तर अरूलाई सापटी दिएपछि विस्तारै अधिकांश रकम बैंकिङ प्रणालीमा आउने उनको विश्वास छ 

Source ekantipur

No comments:

Post a Comment